काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग आउँदो पुसभित्रै सञ्चालनमा ल्याउनेगरी तयारी भइरहेको छ । अहिलेकै गतिमा काम गर्ने र अनुकूल वातावरण भएमा अबको ६/७ महिनाभित्र सुरुङमार्ग सञ्चालनमा आउने भएको छ ।
अहिलेसम्म सुरुङमार्गको ९० प्रतिशत भौतिक प्रगति भएको छ । बाँकी १० प्रतिशत रहेको नागढुङ्गा सुरुङमार्गमा काम नियमित भइरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए ।
आयोजनाले सुरुङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरुङभित्र दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्सिजनको निरन्तर प्रवाहजस्ता सुरुङमार्गका अत्यावश्यक सेवा उपलब्ध गराउने कामलाई अन्तिम रूप दिने काम भइरहेको छ ।
सम्झौतानुसार आउँदो कात्तिक पहिलो हप्ता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा रहेको इन्जिनियर कोइरालाले बताए ।
पूर्वी मुखमा काठमाडौँ चन्द्रागिरि नगरपालिकाको दहचोकबाट शुरू हुने कुल २ दशमलव ७ किलोमिटर लामो सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । सञ्चालनमा आएपछि नागढुङ्गादेखि बलम्बुसम्मको भौतिक दूरी झन्डै तीन किलोमिटरले छोटिनेछ । सुरुङमार्गमा निस्किएको पानीको व्यवस्थापनबारे स्थानीय, चन्द्रागिरि नगरपालिका र धुनीबेँसी नगरपालिकाबीच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको उनले बताए।