काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि गल्ती गरे केही बाँकी नरहने चेतावनी दिएका छन्।
समाजवादी मोर्चा, नेपालले शुक्रबार प्रदर्शनमार्गमा आयोजना गरेको जनसभा सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रले फेरि राजा बन्ने चाहना राखेपछि यस्तो चेतावनी दिएका हुन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न सुझाव दिए ।
‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस्,’ उनले भने, ‘अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’
अध्यक्ष प्रचण्डले विगतमा पूर्वराजाले गरेको गल्तीको परिणाम भोग्नुपरेको पनि स्मरण गराए । ‘विगतमा उनले धेरै गल्ती गरे,’ उनले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् ।’