काठमाडौँ, १२ फागुन – टी–२० क्रिकेटमा अफगानिस्तानले सनसनीपूर्ण प्रदर्शन गर्दै विभिन्न रेकर्ड कायम गरेको छ। शनिबार आयरल्यान्डविरुद्ध देहरादुनमा भएको खेलमा उत्कृष्ट खेल्दै अफगानिस्तानले रेकर्ड कायम गरेको हो।
खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा टी–२० खेलमा अहिलेसम्मकै उच्च स्कोर २ सय ७८ रन जोडेको थियो। यसअघि टी–२० मा सबैभन्दा बढी योगफलको विश्व रेकर्ड रोयल च्यालेन्जर्स बेंग्लोरको नाममा थियो। बेंग्लोरले सन् २०१३ मा पुने वारियर्सविरुद्ध २ सय ६३ रन बनाएको थियो।
अफगानिस्तानका लागि ओपनर हज्रातुल्लाह जजाईले नटआउट १ सय ६२ रन जोडे। यो स्कोर टी–२० खेलमा एकै इनिङको दोस्रो उच्च स्कोर हो। टी–२० मा उच्च स्कोर अस्ट्रेलियाका आरोन फिन्चको नाममा छ। उनले सन् २०१८ मा जिम्बावेविरुद्ध १ सय ७२ रन जोडेका थिए। जजाईले फिन्चको नाममा रहेको अर्को रेकर्डलाई पाछि पारेका हुन्। उनको नाममा इंग्ल्यान्डविरुद्ध १ सय ५६ रन प्रहार गर्दै दोस्रो उच्च स्कोर बनाउने रेकर्ड थियो।
यस्तै खेलमा टी–२० को अहिलेसम्मकै उच्च साझेदारी पनि बन्यो। पहिलो विकेटका लागि जजाई र उस्मान घानीबीच २ सय ३६ रनको साझेदारी भयो। यसअघि रेकर्ड विराट कोहली र एबीडी भिलियर्सबीच २ सय २९ रनको कीर्तिमानी साझेदारी भएको थियो। घानीले पनि खेलमा ७३ रन जोडेका थिए।
२ सय ७९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९४ रन जोड्दा ८४ रनको हार बोहोर्यो। आयरल्यान्डका लागि कप्तान पाउल स्टर्लिङले ५० बलमा ९१ रन जोडेका थिए। तीन खेलको सिरिजमा लगातार दोस्रो जितसँगै अफगानिस्तानले सिरिज पनि जितेको छ। एजेन्सी