काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल र इन्टरनेटमा सबै जनताको पहुँच हुनुपर्ने बताएकी छिन् । उनले सरकारले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक एजेन्डाका रुपमा अघि बढाएर यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्ने कार्य प्राथमिकतामा रहेको बताइन् ।
उनले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउने विषयमा पनि सरकारको उत्तिकै प्राथमिकता रहेको बताइन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले दूरसञ्चारलाई सेवामुखी बनाउँदै आमजनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।
‘सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्राथमिकता दिन म बिशेष आग्रह गर्न चाहन्छु । प्राधिकरणले उपलब्ध राज्य स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ । प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमको व्यवस्था गर्न पनि आग्रह गर्न चाहन्छु,' मन्त्री शर्माले भनिन् ।
विश्वव्यापी रूपमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा ब्यापक परिवर्तन आएको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताइन् ।