धनगढी । धनगढी ६ लेन सडक खण्डमा पैदल मार्ग छोडेर तारजाली माथिबाट सडक काट्दै गरेको एक व्यक्तिलाई नियन्त्रण गरी खादा ओढाएर सम्मान गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सडक काट्दै गरेको अवस्थामा भेटिएका धनगढी १३ राजपुरका शिवराज पाध्यायलाई खादा लगाई सम्मान गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाले पटक पटक तारजाली संरक्षण गर्न सबैमा अनुरोध गर्दै आएको थियो । ६ लेन सडकमा धनगढीका पैदल यात्रुहरू तालजाली नाघेर जाँदा टुट्दै आएका थिए ।
त्यहाँबाट कहिले बिरुवा चोरी हुने भने कहिले तारजाली भाँचिन थालेर हैरान भएका थिए ।सडक लेनको बिचमा तारजाली लगाए पनि केही पैदल यात्रुले धमाधम तारजाली नाघेर सडक काट्न थालेपछि उपमहानगरपालिकाले कडाई गरेको थियो । ६ लेन सडक पार गर्न विभिन्न ठाउँमा पैदल मार्ग राखिएको छ ।