तनहुँ । पृथ्वी राजमार्गअन्तर्गतको याम्पाफाँट–घाँसीकुवा खण्ड आज (बिहीबार)देखि दैनिक चार घण्टा बन्द गरिने भएको छ ।
मुग्लिङ–पोखरा सडकखण्ड चार लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिन रातिको समयमा बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
उक्त सडकखण्ड आजदेखि फागुन २७ गतेसम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी पाँच बन्द गरिने गैरेले जानकारी दिए ।
निमित्त प्रजिअ गैरेका अनुसार काम छिटोछरितो गर्नका लागि मुग्लिङ–पोखरा खण्ड योजना (पूर्वी खण्ड) बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रूपमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनहरू पूर्णरुपमा रोकी काम गर्ने निर्णय भएकाले बन्द गरिने भएको हो ।
चाइना कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिङ सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता काट्ने र खाल्टो पुर्ने कार्य भइरहेको छ ।