बाग्लुङ । कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालयमा बिरामीको सङ्ख्या निकै कम थियो । जब विश्वभर महामारीका रुपमा कोरोना सङ्क्रमण फैलियो, तब औषधालयमा बिरामीको चाप बढ्दै गयो ।
पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा आएर जाँच र औषधि लिने बढेको आयुर्वेदालयले जनाएको छ ।
औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिनेगरेको सूचना अधिकारी एकराज ढुङ्गानाले बताए । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खान नरुच्ने, बाथलगायतका समस्या भएका बिरामी आयुर्वेद यहाँ आउनेगरेको ढुङ्गानाको भनाइ छ ।
आयुर्वेद औषधिमा विश्वास कम गर्ने पनि लामो समय नियमित आयुर्वेदिक औषधि खाएर शरीरमा फाइदा पुगेको भन्दै आकर्षित भएको उनको बुझाइ छ ।उनका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म सात हजार चार सय ३० जना बिरामीले सेवा लिएका छन् ।
यसवर्ष सबैभन्दा बढी साउन महिनामा एक हजार तीन सय २० जना बिरामीले सेवा लिएका छन् । भदौमा एक हजार ३६ जना, असोजमा नौ ६१ जना, कार्तिकमा आठ यी ५१ जना, मङ्सिरमा आठ सय ८३ जना, पुसमा एक हजार १० जना, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएको औषधालयले जनाएको छ ।
औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन् । अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउनेगरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डाक्टर सरोजकुमार रायले जानकारी दिए । आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायतका विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उनको भनाइ छ ।
पछिल्लो समय दैनिक ३०/३५ जना बिरामी औषधालयमा आउनेगरेको डाक्टर रायको भनाइ छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदैआएको उनले बताए ।