काठमाडौं। पर्यावरण अभियन्ता धनुषाका दिलीप महतोको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५–२५ वर्षको कैद सजाय सुनाइएको छ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई २५–२५ वर्षको कैद सजाय र ५–५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको हो।
अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक दिलीपको हत्या गरेको कसुरमा उनीहरुलाई उक्त सजाय सुनाइएको हो।
विपीन दिलीपको हत्याका मुख्य योजनाकार तथा चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् भने मुनिन्द्र कामदार हुन्।
सम्बन्धित समाचारः दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर
त्यस्तै, हत्याका मतियार जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला भएको छ।
अभियुक्तहरूले आर्थिक अभावका कारण क्षतिपूर्ति दिन नसक्ने अवस्थामा पीडित राहत कोषबाट भए पनि क्षतिपूर्ति भराउने अदालतको फैसला छ।
हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन्।
२५ पुस २०७६ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलिपको हत्या भएको थियो।
आक्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना७ख ६४१३ नम्बरको टिपरको पछाडि चक्काले टाउकोमा किचेर सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको थियो।