काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । बिरामी सुरक्षा सम्बन्धी पाँचौ मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका मन्त्री गिरी र गेब्रेयसबीच भेटवार्ता भएको हो ।
भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोग लागि धन्यवाद दिए । विशेष गरी विभिन्न प्रकोपहरूका नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा गरेको सहयोगको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाको उनले राष्ट्रसंघको प्रशंसा गरेका थिए ।
मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणालीलगायतका हाल भइरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वय गर्ने कुरा राखेका थिए ।
विश्व स्वास्थ्य संगठनका समन्वय केन्द्ररहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तराष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वयनका लागि मूल क्षमता अभिबृद्धिका लागि निरन्तर सहयोगका कुराहरूका विषयमा भेटमा छलफल भएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।