धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको छ लेन सडकमा बुधबारदेखि स्मार्ट सडक बत्ती बल्न सुरु भएको छ। छ लेन सडकलाई राति उज्यालो बनाउनुका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्मार्ट सडक बत्ती जडान गरिएको हो। सो बत्तीको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बुधबार साँझ उद्घाटन गरे।
वडा नम्बर ३ को मोहनापुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडान गरिएको छ। छ लेन सडकको साढे छ किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान भएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए।
नेपाल विद्युत प्राधिरण, राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा स्मार्ट सडक बत्ती जडान गरिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए।
धनगढी उमपहानगरपालिकाको कार्यालयका अनुसार उज्यालो धनगढी कार्यक्रम अन्तर्गत पहिलो चरणमा २१२ पोलमा ४३२ वटा बत्ती जडान गरिएको छ। दुई करोड ७० लाख रुपियाँ खर्चेर सडक बत्ती जडान गरिएको हो। जसमा एक करोड ६१ लाख (६० प्रतिशत) धनगढी उपमहानगरपालिका र एक करोड सात लाख (४० प्रतिशत) रुपियाँ परियोजनाले व्यहोरेको धनगढी उपमहागरपालिकाका डिभिजनल इन्जिनीयर दिजराज भट्टले जानकारी दिए। पहिलो चरणमै ६५ लाख रुपियाँ लागतमा १० वटा हाइमास्ट लाइट पनि जडान गरिने उनले बताए।