काठमाडौं। सन्तोष प्याकुरेलको नेतृवमा राष्ट्रिय शैक्षिक परार्मश संघ (नेका) को नयाँ कार्यसमिति चयन भएको छ।
नेकाको चौंथो वार्षिक साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन, वार्षिक आर्थिक प्रतिवेदन र आगामी कार्य योजना बहुमतले पारित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
नेकाको उपाध्यक्षमा भुपेन्द्र सिटौला र रमण कोइराला, महासचिवमा दिपक कोइराला, सचिवमा प्रधुम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रविन्द्र थापा र सदस्यहरूमा सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशव सिम्खडा र अशोक भण्डारी चयन भएका छन्।

साधारण सभाको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्क, अथितिहरूमा नेपाल अभिभावक महांसंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, आईडीपी आईईएलटिएसका प्रतिनिधिलगायत विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधिहरू थिए। साथै, अस्ट्रेलियन कलेजहरूका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।
के हो नेका ?
राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) शैक्षिक परामर्श संस्थाहरूको अग्रस्थानमा रहेको छाता संगठन हो।
अध्यक्ष प्याकुरेलले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि नीति नियममा बसेर उचित परामर्श नेकाले दिने प्रतिवद्धता जनाए।
उनले वार्षिक कार्ययोजना बनाउन आउँदो हप्ता रणनैतिक बैठक बस्ने जानकारी दिए।
उनका अनुसार नेकाले विदेशमा अध्ययनमा गएका विद्यार्थीहरूलाई अप्ठ्यारो परिस्थितिमा सहयोग तथा सहजीकरण गर्ने, विद्यार्थी तथा अभिभावकहरूसँग वैदेशिक अध्ययन सम्बन्धि अन्तक्रिया गर्नेलगायत आफ्ना सदस्य संस्थाहरूलाई तालिम दिने, अन्तक्रिया गर्ने, वैदेशिक कलेजहरू तथा त्यसका प्रतिनिधिहरूको विकृतिविरुद्ध सशक्त रुपमा आवाज उठाउने कार्यलाई निरन्तरता दिँदै आएको छ।

नेकाले सामाजिक दायित्वअन्तर्गत विपत्तिमा परेकाहरूलाई सहयोग पनि गर्दै आइरहेको छ। स्थापनाको छोटो समयमा नै नेकामा करिब १२५ शैक्षिक परामर्श व्यवसायीहरू आवद्ध भैसकेका छन्।
शिक्षा मन्त्रालयले तोकेको मापदण्डअनुसार स्थापना भएका शैक्षिक संस्थाहरुले नेकाको सदस्य बन्न सक्छन्।