काठमाडौं । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्यगरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदैआएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवनको आहुति दिएका थिए । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको मानिन्छ ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष संघीय राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा दिवस मनाउँदैआएको छ । आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा पनि दिएको छ ।