काठमाडौं । सरकारले फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन कार्यक्रम सुरु गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गर्ने लागेको जानकारी दिए ।
सरकारले गत वर्ष सर्वेक्षण गर्दा रसुवामा हात्तीपाइले रोगको समस्या देखिएकाले यस वर्षदेखि रसुवासहित १५ जिल्लामा यो औषधि सेवन सञ्चालन गर्न लागेको हो ।
डा। दाहालका अनुसार यो वर्ष झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई औषधि खुवाउने लक्ष्य छ ।
सरकारले ६४ जिल्लामा सञ्चालित यो अभियान हाल आएर ४८ वटा जिल्लामा बन्द गरिसकेको छ । बाँकी १४ जिल्लामा औषधि खानयोग्य सबैले औषधि नखाइदिँदा समस्या जीवित रहेको छ । साथै हरेक दुई वर्षमा रगत जाँच गरी हेर्दासमेत यी जिल्लामा रोगको दर अपेक्षिकृत रुपमा नघटेकाले यी जिल्लामा पटक पटक औषधि खुवाउन परेको जनस्वास्थ्यविद् रामकुमार महत्तोको भनाइ छ ।
महत्तोले यो औषधि सुरक्षित भएकाले ढुक्कासँग खाना आग्रह गरे ।हात्तीपाइले रोगका लक्षणहरु नदेखिए पनि रोगका परजीवीहरु शरीरमा हुनसक्छन्, यो समस्या भएकाले औषधि खानासाथ रोगका परजीवीहरु मर्ने र भविष्यमा रोग लाग्न नदिने महत्तोको भनाइ छ ।
महत्तोका अनुसार औषधि सेवन कारण शरीरमा भएका हात्तीपाइलेका परजीवीहरु अरु स्वास्थ्य मानिसको शरीरमा सर्दैनन् । समुदायमा केही व्यक्तिमा रोगका परजीवीहरु छन् र औषधि सेवन गरेमा लामखुट्टेले टोके पनि शरीरमा ती परजीवीहरु सर्न सक्दैनन् ।
औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा ओछ्यान परेका सिकिस्त बिरामी, मिर्गौला रोगका लागि डायलासिसजस्ता जीवनभर चिकित्सकको निगरानीमा बसेका मानिसलाई औषधि नखान महत्तोको सुझाव छ । औषधि खाली पेटमा नखान चिकित्सकको सुझाव छ ।