दार्चुला । महाकाली नदीमा नेपाल–भारत जोड्ने दुई झोलुंगे पुलको उद्घाटन गरिएको छ । नेपाल सरकारले व्यास गाउँपालिकामा निर्माण गरेको दुई झोलुंगे पुलको नेपाल भारतका अधिकारीले बिहीबार उद्घाटन गरेका हुन् ।
सीमा पुलको उद्घाटन दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशीले संयुक्त रुपमा गरेका थिए । नेपाल सरकारले मलघट्टेमा १ सय २० मिटर लामो र मालघाटमा १ सय ४० मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो ।
व्यास गाउँपालिका २ मालगाउँ र वडा नम्बर ४ मलघट्टे क्षेत्रमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि बिहीबारबाट सञ्चालनमा ल्याएका छन् । अब औपचारिक रुपमा पुल उद्घाटन गरी नियमित सञ्चालनमा आएपछि स्थानीयको नेपाल–भारत आवतजावतमा सहजता आएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए ।