काठमाडौँ। खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन् ।
तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका हुन् ।
उनले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिए। उनले दूरदराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिए ।
उनले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उनको भनाइ थियो ।
उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने मन्त्रालयका सचिव मणिराम गेलालले बताए । गुनासो सुनुवाइ गर्न मन्त्रालयले अधिकृतको नेतृत्वमा चार कर्मचारी खटाएको छ । कार्यालयले समयमा आएको गुनासो तत्काल सम्बोधन गर्नेछन् भने अन्य समयमा रेकर्डमा रहने जनाइएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए। एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भएको भन्दै छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उनले बताए।