काठमाडौं। काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी बिचौलियाको काम गरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी बिचौलियाको काम गरी सर्वसाधारणलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका–९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन्।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो–हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो।
तीनै जना उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको छ।