चितवन। निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिङ सडक खण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
पुस ५ गतेदेखि दैनिक चार घण्टा सडक बन्द गरी काम गर्दासमेत काम पूरा हुन नसकेपछि विस्फोटक पदार्थ प्रयोगको विकल्पसहित फागुन ७ गतेबाट लागु हुने गरी मध्यान्ह १२ बजे देखि अपराह्न ४ बजेसम्म थप १५ दिन दैनिक चार घण्टा यातायात पूर्णतया बन्द गरी काम गर्ने निर्णय गरिएको हो।
गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो।