पोखरा । गण्डकी प्रदेशभरी आज बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले सरकार स्थापना दिवसको अवसरमा प्रदेशमा विदा दिएको हो । आज सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश राजपत्रमा २०७९ मा स्थापना दिवसको दिन सार्वजनिक विदा दिने विषय समावेश गरिएको छ । गतवर्ष २०७८ चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार वार्षिकोत्सवलाई भव्य बनाउने गरी तयारी गरिएको छ। उनका अनुसार आज बिहान ७ः३० बजे शहीदचोकस्थित शहीद स्तम्भमा माल्यार्पणको कार्यक्रम तय भएको छ । त्यसपछि शहीदचोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरीको आयोजना गरिएको छ।
पोखरा सभागृहमा वार्षिकोत्सवको मूल समारोह आयोजना गरिने उनले बताए । समारोहमा प्रदेशका उत्कृष्ट कर्मचारीको घोषणा, विपद् व्यस्थापनमा खटिएर उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीको सम्मान र मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका च्याम्पियन टोलीलाई पुरस्कार प्रदान गरिने सचिव अधिकारीले बताए ।