काठमाडौँ । धनुषाका दिलीप महतोको हत्यामा संलग्न ३ जना दोषी ठहर भएका छन् । अवैध उत्खननको विरोध गर्दा दिलीप महतोको हत्या गर्ने विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतोलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् । जितेन्द्र र मुनीन्द्र भने उक्त उद्योगका कामदारका रूपमा कार्यरत थिए । विपिन र मुनीन्द्रलाई दिलीपको मनशायपूर्वक हत्या गरेकोमा दोषी ठहराइएको हो भने जितेन्द्रलाई हत्याको मतियार भएकोमा कसुरदार ठहराइएको हो ।
विपिन र मुनीन्द्रलाई २५ वर्ष वा आजीवन कैदमध्ये कुनै एक सजाय हुनेछ भने जितेन्द्रलाई त्यसको आधा सजाय हुनेछ । आगामी फागुन १२ गते न्यायाधीश गुरुङले नै उनीहरूलाई सजाय निर्धारण गर्ने श्रेष्तेदार विकास बस्नेतले जानकारी दिए ।
हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् ।