काठमाडौं। यातायात मजदुरको आन्दोलनमा प्रहरीको गाडी आगो लगाउने तथा प्रहरी विट तोडफोड गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा पहिचान गरी उक्त कार्यमा संलग्नहरुमध्ये ६ जनालाई विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमध्ये उदयपुरको बलमता गाउँपालिका–२ घर भइ हाल काठमाडौंको तारकेश्वर–१० बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गागाउँपालिका–३ घर भइ काठमाडौंको टोखा–३ बस्ने ३० वर्षीय रामहरि भण्डारी र लमजुङको बेशीशहर नगरपालिका–५ घर भइ हाल काठमाडौंको तारेकश्वर–१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन्।
यस्तै काभ्रेपलाञ्चोकको मानेडाँडा गाउँपालिका घर भइ हाल काठमाडौं–१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्यूठानको कडी गाउँपालिका–१ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने १८ वर्षीय दीपेन्द्र पुन मगर र काभ्रेपलाञ्चोकको भुम्लु घर भइ हाल काठमाडौंको गंगाहाल बस्ने २० वर्षीय आशिष खड्का रहेका छन्।
पक्राउ परेकाहरुविरुद्ध अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरेर काठमाडौं जिल्ला अदालतबाट दिन ३ म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साथै, ९–१० जना अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भइरहेको छ।
फागुन १ गते माछापोखरी चोकमा यातायात मजदुरहरुले प्रहरी वृत बालाजुको २ सवारी साधन आगजनी गरेका थिए।
त्यस्तै, प्रहरीले यातायात मजदुरको आन्दोलनमा लुटपाट गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा दैलेखको भगवती माई गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय चिरन रेग्मी, काठमाडौं महानगरपालिका–१६ सामाखु्सीका ३५ वर्षीय नविन खड्की, रुपन्देहीको खैरेनी गाउँपालिका–५ का २२ वर्षीय सुजन खत्री र झापाको शिवसताक्षी नगरपालिका–४ का १८ वर्षीय प्रदीप बस्नेत रहेका छन्।

फागुन १ गते बेलुका करिब ६ बजेतिर गोंगबु बसपार्कमा रहेको लोत्से मलमा सञ्चालित अर्जुन चालिसेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाइल प्रालि तथा राजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतमा सामग्रीहरु चोरी भएको थियो।
उनीहरुको साथबाट चोरी भएका विभिन्न सामानहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।