काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को २३औँ महाधिवेशनको आज दोस्रो दिन चलिरहेको छ । हिजो महाधिवेशसनको उद्घाटन भएकोमा आज नयाँ नेतृत्व चयन हुनेछ ।
नेतृत्व चयनमा सहमति नभए मतदान प्रक्रियाबाट टुंगो लगाउने तयारी भएको छ । त्यसका लागि विद्युतीय मतदानको व्यवस्था भइसकेको अखिलका नेताहरूले बताएका छन् । अखिलको अध्यक्षका लागि तीन जनाले दाबी गरेका छन् ।
नयाँ नेतृत्व चयनका लागि अध्यक्ष सुनिता बराल नेतृत्वको कमिटी भंग गरेर स्थायी कमिटी सदस्य भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल घोषणा भएको छ । उक्त कमिटीमा पूर्वअध्यक्ष खिमलाल भट्टराई, माधव ढुगेल, किशोरविक्रम मल्ल, नविना लामा, ऐन महर, सुनिता बराल र केन्द्रीय सदस्य विनोद ढकाल, रचना खड्का सदस्य रहेका छन् ।
अखिलको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडालका साथै मोती विश्वकर्मा र झपिन्द्र खत्रीको दाबी रहेको छ ।
निशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने मूल नारासहित अखिलको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।