धनगढी । रेल सेवा बन्द भएको ३० वर्षपछि धनगढीसँग जोडिएको भारतीय नाका गौरीफन्टासम्म भारत सरकारले फेरि रेल सेवा सञ्चालन गर्ने भएको छ । रेल सेवा बन्द भएको गौरीफन्टा रुटमा रेल चलाउन भारत सरकारले तयारी थालेको भारतीय अधिकारीहरुले बताएका छन् ।
१४ अप्रिल १९१४ मा दुधुवा–गौरीफन्टा जोड्ने १४ माईल लम्बाई रेल लाईन निर्माण गरी भारत सरकाले सीमावर्ती बजार गौरीफन्टासम्म रेल सेवा सञ्चालनमा ल्याएको थियो । सन् १९९३ मा रेल सेवा बन्द गरेको थियो। पूर्बोत्तर रेलवेका महाप्रबन्धक चन्द्रबीर रमणले चार दिनअघि मैलानी जक्सनको निरीक्षण गर्दै दुधुवा–गौरीफन्टा रेल सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।
उनकै निर्देशनमा आरएम आदित्य कुमारले गौरीफन्टाको स्थलगत अध्ययन गरेको बताए । आरएम आदित्य कुमारले रेल सेवा सञ्चालनका सम्बन्धमा स्थलगत अध्ययन प्रतिबेदन बुझाएपछि थप प्रक्रिया अघि बढ्ने बताएका छन् ।
सुदूररपश्चिमका अधिकांश जिल्लाको सिधा सम्बन्ध धनगढीसँग रहेकाले रेल सञ्चालन भएमा यहाँका नेपाली र भारतीय व्यापारी र स्थानीयलाई पनि सहज हुने अनुमान गरिएको छ ।