अछाम। अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ।
पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद र क्षतिपूर्तिको फैसला सुनाइएको हो।
अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका अनुसार पीडित जयसरा न्यौपानेलाई अपमान तथा अमानवीय व्यवहार गरेको भन्दै दुवै बुहारीलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला समेत भएको छ।
भदौ ८ गते दुई बुहारीले जयसरालाई कुटपिट गरिरहेको भिडियो पीडितका नातिले सामाजिक सञ्जालमा हालेपछि सोही आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो।
पीडित जयसरालाई कुटपिट गरिरहेको भिडियो खिचेर फेसबुकमा हाल्ने पीडितका नाति ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई भदौ १० गते जिल्ला प्रहरी कार्यालयले सम्मानित गरेको थियो।