पोखरा। पोखरा महानगरपालिकाले गत सोमबार एक सुचना प्रकाशित गर्दै मुख्य सहरी क्षेत्र पृथ्वीचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोकको सडकमा सवारी पार्किङ निषेध हुने जानकारी गरायो।
महानगरको निर्णय आज सोमबारदेखि कार्यन्वयन हुने प्रकाशित सुचनामा उल्ल्लेख थियो। तर, महानगरको यो निर्णय हप्ता दिन पनि टिकेन।
सडकमा पार्किङ निषेध गरिएको क्षेत्रका व्यावसायी, यातायात व्यावसायी र सवारी चालकको चर्को विरोध खेप्न नसकेपछि कार्यन्वयनको अघिल्लो दिन आइतबार तत्कालका लागि सडकमा पार्किङ निषेध गर्ने निर्णय कार्यन्वयन नहुने भन्दै महानगरले अर्को सुचना जारी गरेको छ।
दुर्घटना न्युनीकरण, सहरी सौन्दर्यकरण र ट्राफिक व्यवस्थापनका लागि सडकमा पार्किङ निषेध गरेको बताउने महानगरपालिकाले निर्णय कार्यन्वयनबाट पछाडि हटेपनि सशुल्क पार्किङको सुरुवात भने गरेको छ। न्युरोडस्थित पूर्णिमा हल पछाडी रहेको योगेन्द्र पध्याङको २ रोपनी जग्गाबाट महानगरका मेयर धनराज आचार्यले सशुल्क पार्किङको सुरुवात गरेका हुन्।
‘अब सडकमा विस्तारै सवारी साधन राख्ने दिन सकिए भनेर बुझ्दा हुन्छ’, मेयर आचार्यले भने।
रिङरोड एरियामा असाध्यै ट्राफिक बढेकाले क्रमश खाली गर्न लागेको मेयर आचार्य बताउँछन्। सभागृह र नयाँबजारको प्रदर्शनी केन्द्रमा महानगरले अर्को व्यवस्था नभएसम्म निशुल्क पार्किङ गर्न दिने उनको भनाइ छ।
मेयर आचार्यका अनुसार पोखरा सभागृहलाई स्थानान्तरित गरि हालको सभागृहमा बहुउपयोगी व्यापारिक भवन निर्माण गर्ने र त्यसै भवनमा जापानीज मोडलमा बहुतल्ला पार्किङ्ग व्यवस्थापन गर्ने लक्ष्य महानगरले लिएको छ।
सोमबार सशुल्क पार्किङको सुरुवातसँगै सडकमा पार्किङ निषेधको शुभारम्भ भएको पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताउँछन्। पार्किङ हटाउन नभइ व्यवस्थित गराउन खोजेको उनको दाबी छ।
महानगरले २७ स्थानमा खाली जग्गा सशुल्क पार्किङका लागि व्यवस्थापन गरेको जनाएको छ। पार्किङ गरेवापत दुईपांग्रे सवारी धनीले प्रतिघण्टा १० रुपैयाँ तिर्नुपर्ने महानगरले शुल्क निर्धारण गरिदिएको छ। हलुका सवारीको ५० रुपैयाँ र मझौला सवारीको ७० रुपैयाँ शुल्क तोकिएको छ।