पोखरा । प्रगतिशील पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालले २५ औँ स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरी मनाएको छ ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी र कास्की शाखाले पनि संयुक्त रूपमा बालगृहमा आश्रित बालबालिकालाई स्टेशनरी सामाग्री वितरण गरी स्थापना दिवस मनाएको छ ।
केन्द्रीय कमिटीले रचनात्मक काम गरेर दिवस मनाउन निर्देश गरे अनुसार आइतबार पोखरा–१७ महतगौंडास्थित सृजना बालगृहमा संरक्षित १२ जना बालबालिकालाई १३ हजार मूल्य बराबरको स्टेशनरी सामाग्री वितरण गरेका हुन् । विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न प्रकारका कापी, कलम, सिसाकलम, रङ, ज्यामितिय बाकससहितका पाठ्यसामग्री वितरण गरिएको हो ।
प्रमुख अतिथि प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेलले चौतारीका सदस्यले आफ्नो स्थापना दिवसका अवसरमा बालगृहमा संरक्षित बालबालिकालाई शिक्षामा सहयोग पुग्ने गरी गरेको कार्य महान् रहेको बताए ।
उनले सानो काम भए पनि यसको सन्देश ठुलो रहेको उल्लेख गरे । सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले पत्रकारले सामाजिक काममा सक्रियता देखाएको भन्दै खुसी व्यक्त गरे ।
सङ्गठन केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज सुष्मा पौडेल, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रुद्र श्रीस मगर, पूर्व अध्यक्ष श्याम कुँवर, अग्रज दीपेन्द्र श्रेष्ठ लगायतले विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री वितरण गरे ।