काठमाडौं। बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो। उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ।
ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ। भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए÷नभएको परीक्षण गरिएको रहेछ।’
बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो। साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ।
प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ। उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेको खुलेको छ।
बालिका भने यसबारे जानकार थिइनन्। उनले भने, ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियाँै। दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो।’
पीडित बालिकालाई मङ्सिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो। पुस १९ सम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो। पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याइएको प्रहरीको भनाइ छ।
भारत पुर्याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो। आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन। ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ।
अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए। रासस