काठमाडौं। प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
शुक्रबार सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्नू गराउनू भनी अन्तरिम आदेश जारी गरेको हो।
३५ वर्ष उमेर पूरा भएका कारणबाट परीक्षामा सामेल नगराउने कार्यबाट उनीहरुको वृत्ति विकासमा असर पुग्न सक्ने देखिएको भन्दै अदालतले विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्न गराउन अन्तरिम आदेश दिएको हो।
अदालतले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरू निजामती सेवा सम्बन्धी ऐन बमोजिम उम्मेदवार हुन पाउने व्यवस्था गरेको स्मरण समेत गराएको छ।
नेपाल निजामती कर्मचारी सङ्गठनका तर्फबाट अवकाशप्राप्त उपमहासचिव युवाचन्द्र घिमिरेले लोकसेवा आयोगलाई विपक्षी बनाएर दिएको रिट निवेदन दिएका थिए।