तौलिहवा। कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ विमिहा बस्ने ३५ वर्षीय राजेशकुमार बर्मा, सोही स्थानका २६ वर्षीय राकेशकुमार बर्मा र गाडी चालक भारतको सिद्धार्थनगर ग्राम अनुपनगर नौगढ घर भई हाल मायादेवी गाउँपालिका–१ इमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान छन्।
युपी ५५ ए एम ०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको स्रोत नखुलेको भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक बस्नेतले बताए। स्रोत नखुलेको भारतीय रुपैयाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
स्रोत नखुलेको भारतीय रुपैयाँलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको छ। पक्राउ परेका तीनै जनामाथि वैदेशिक मुद्रा अपचलनसम्बन्धी मुद्दा चलाउन थप अनुसन्धान भइरहेको छ।