धनगढी, ११ फागुन - तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ।आज दिउँसो साढे १२ बजे धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने फाइनल खेलमा शरद भेसावाकर कप्तानीको महेन्द्रनगर युनाइटेड र दिपेन्द्र ऐरी कप्तानीको सिवाइसी अत्तरिया भिड्दैछन्।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने फाइनल खेलमा सुदुरपश्चिमकै दुई टिम प्रतिस्पर्धा गर्ने र घरेलु दर्शकको पनि राम्रो उपस्थिति हुन सक्ने भएकाले खेल रोमान्चक हुने आशा गरिएको छ।
बुधबार भएको पहिलो क्वालिफायर खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा पुगेको थियो भने आफ्नो मुख्य बलर अंकित दबासलाई बलिंग गर्न प्रतिबन्ध गरेको भन्दै काठमाण्डौले प्रतियोगिता बहिस्कार गरेपछि महेन्द्रनगर सिधै फाइनलमा पुगेको थियो।
फाइनल अघि दुबै कप्तानले योजनाका साथ उपाधी जित्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। महेन्द्रनगर विरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ। समूह चरणमा अत्तरिया महेन्द्रनगरसँग ७ विकेटले पराजित भएको थियो ।
सर्वाधिक धनराशि पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछ। यस्तै उपविजेताले १२ लाख पाउने छ। प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महेन्द्रनगर युनाइटेडका खेलाडीहरु
राष्ट्रिय टिमबाट नियमित खेल्दै आएका खेलाडीको बाहुल्यता रहेको महेन्द्रनगर युनाइटेडमा कप्तान शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल र अविनाश बोहोराजस्ता राष्ट्रिय खेलाडी छन्। त्यस्तै, अन्तर्राष्ट्रिय म्याचको अनुभव रहेका विकेटकिपर दिलिप नाथ, विदेशी खेलाडी यूएईका अनुभवि खेलाडी मोहम्मद नाभिद छन्।
अन्य खेलाडीमा अमरसिंह रौटेला, सागर ढकाल, दीपेन्द्र चन्द, शाहब आलम, सन्तोष भट्ट, सिद्धान्त लोहनी, कुशल मल्ल, सुशिल खड्का महेन्द्रनगर युनाइटेडमा छन्।
सीवाईसी अतरियाका खेलाडीहरु
ब्याटिङ र बलिङ दुवै औसत रहेको युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको नेतृत्वको सीवाईसी अत्तरियाको टीममा पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग क्रिकेटमा राम्रो प्रदर्शन गरेका खेलाडीहरु छन्।
भारतीय ब्याट्सम्यानहरु जयकिसन कोल्सवाला र सन्नी पटेल पनि अत्तरियाको टीममा छन्। हालै राष्ट्रिय टिमबाट डेब्यू गरेर राम्रो छाप छोड्न सफल सन्दीप जोरा, बलिङतर्फ रामनरेश गिरी, भुवन कार्की, कमलसिंह ऐरी लगायत अत्तरियामा छन्।
अत्तरियाको अन्य खेलाडीमा जितेन्द्रसिंह ठकुरी, दीपेन्द्र रावत, प्रेम तामाङ, आदिल अन्सारी, खगेन्द्र जोशी, सुभेन्दु पाण्डे, रित गौतम, ज्ञानेन्द्र कुँवर रहेका छन्।