काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
अभिमुखीकरण कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएको हो। यो अपराह्न ४ बजेसम्म जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयले आज (बिहीबार) र भोलि (शुक्रबार) ४ बजेसम्म प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने तय गरेको हो। अभिमुखीकरण कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिनेछन्।
संसद् भवन नयाँ बानेश्वरमा हुने अभिमुखीकरण कार्यक्रमले प्रतिनिधिसभामा आएका नयाँ सदस्यका लागि उपलब्धिपूर्ण हुने विश्वास सचिवालयले गरेको छ।
नयाँ सांसदलाई संसदीय मूल्यमान्यता र गतिविधिबारे जानकारी गराउन र संसदीय अनुशासनको परिपालनाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।