काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेका लागि बैठक तय भएको सो दलले जनाएको छ । बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता भन्दै स्थगित गरेको थियो ।
आजको बैठकमा पार्टीका नेताहरुको जिम्मेवारी र कार्यविभाजनमा केन्द्रित भएर छलफल हुने केन्द्रले जनाएको छ । स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । सो कार्यदलले सैद्धान्तिक प्रतिवेदन पेश गरिसकेको छ ।
नेताहरुको कार्य विभाजन तथा जिम्मेवारीका लागि अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालाई जिम्मेवारी दिइएको थियो ।
आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, गृह मन्त्रालयका विषयमा समेत छलफल हुनसक्ने महासचिव गुरुङले बताए ।