काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा)दिने र दिन लगाउने २ जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोलखाको गौरी शंकर नगरपालिका-५ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २३ वर्षीय देव बहादुर श्रेष्ठ र दोलखा घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय युवराज खड्कालाई ट्राफिक प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भक्तपुरको राधेराधे ट्रायल सेन्टरबाट खड्काको नाममा श्रेष्ठले दुईपांग्रे सवारी साधनको ट्रायल दिइरहेको भेटिएपछि दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवैलाई प्रहरी वृत्त ठिमी पठाइएकोमा अभद्र व्यवहारसम्बन्धी कसुरमा बुधबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत ठिमी भक्तपुरले जनाएको छ ।
अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्न विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए। साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए।