काठमाडौं। सडकबाट अपाङ्गता भएका व्यक्तिलाई काठमाडौं महानगरले पक्राउ गर्यो भनेर प्रकाशन भएको समाचारप्रति ध्यानाकर्षण भएको महानगर प्रहरी बलले बताएको छ।
दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको हो। यस क्रममा उनीमाथि कुनै पनि प्रकारको बल प्रयोग नगरिएको महानगर प्रहरी बलले स्पष्ट पारेको छ।
उनी सडकमा चुरोट तथा गुट्खालगायतका बस्तु विक्री गरिरहेका थिए। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘सडकमा भएका सहयोगापेक्षीहरुलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्ने गरेका छौँ। स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनमिलन गराउने काम गरिरहेका छौँ। कार्कीलाई महानगर प्रहरी बलको गाडीमा राख्नुको उद्देश्य पनि त्यही हो। यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो।।’
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भाञ्जाका जिम्मामा छाडिएको थियो। आश्रममा जान नमान्ने उनी आज पनि चुरोट, गुट्खालगायत बस्तु विक्री गर्न सडकमै निस्किएको महानगर प्रहरी बलले जनाएको छ।
अहिले नगर प्रहरीले उनलाई आश्रममा जानका लागि सम्झाइ बुझाइ गरिरहेको छ।
सडकमा अनधिकृत व्यापार गर्नेलाई पक्राउ गरेपछि विवरण खडा गर्ने गरिन्छ। प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना एकाइका प्रमुख नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीका अनुसार उनको कुनै पनि विवरण खडा गरिएको छैन।