काठमाडौं । पछिल्लो चार महिनायता बजारमा चामल र पिठोको मूल्य अत्यधिक बढेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ। त्यसयता चामल पनि प्रतिकेजी १० रुपियाँदेखि १८ रुपैयाँसम्म बढेको छ।
संघका अध्यक्ष पवित्र वज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन्।
खुद्रा व्यापारी विनोद अधिकारीले पछिल्लो डेढ महिनामा चामल, आँटा, मैदा र चामलको भाउ अस्वाभाविक बढेकाले बिक्री गर्न नै समस्या भएको बताए। खाद्यवस्तुको मूल्य बढ्दा आफूजस्ता साना तथा खुद्रा व्यापारी दोहोरो मारमा परेको उनको गुनासो छ।
थोक व्यापारीको संस्था नेपाल किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भारतबाट यसअघि धेरै मात्रामा नेपाल भित्रिने जिरा मसिनो चामलको मूल्य बोरामै चार सयदेखि ५०० रुर्पयाँ बढेको छ। यस्तै मैदा र आँटाको मूल्य पनि व्यापारीअनुसार बढेको छ।