काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउन टाइम कार्ड सुरु गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी छ महिनाभित्र टाइम कार्डमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराउने बताए ।
श्रम मन्त्रालयमा पाँच वर्ष अगाडि नै श्रमिकका गुनासो लिनका लागि कल सेन्टर स्थापना गरिएको थियो । कल सेन्टरको काम प्रभावकारी नभएका भन्दै आलोचना हुने गरेको छ ।
मन्त्रालयले आजदेखि ‘श्रमाधानः २४ घन्टे श्रम सहायता केन्द्र’ सञ्चालनमा ल्याएको छ । स्वदेश तथा विदेशमा रहेको श्रमिकले पाउने अप्ठ्यारा, गुनासा समाधानका लागि केन्द्रमा टेलिफोन गरेर टिपाउन सक्ने उनको भनाइ छ । छ महिनाभित्र श्रमाधानको मोबाइल एप पनि सार्वजनिक गरिने मन्त्री अर्यालले बताए । उक्त एपमार्फत श्रम मन्त्रालयसँग सम्बन्धित गुनासो गर्न दर्ता गर्न सकिने छ ।