काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको पूर्णपाठ नआउँदासम्म कसैलाई गृहमन्त्री नबनाइने बताएका छन्।
आज पेरिसडाँडामा भएको माओवादी केन्द्रको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अदालतको पूर्णपाठ नआउँदासम्म कसैलाई गृहमन्त्री नबनाइने बताएका हुन्।
बैठकबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौं। सर्वोच्चको पूर्णपाठ कुर्नुपर्ने धेरैले सुझाव दिनुभएको छ।’
उनले सकेसम्म गठबन्धन नटुटोस् भन्ने आफ्नो चाहना रहेको बताए। उनले अगाडि भने, ‘हामी सल्लाह गर्दैछौं। सकेसम्म यो गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ।’
उपाध्यक्ष कृष्णबहादुर महराले अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय नहुने र गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने बताए।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीले भने साँझसम्म गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो।
त्योसँगै उनले उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
लामिछानेले आइतबार नागरिकता लिइसकेका छन्। त्यसपछि उनी र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनिसकेका छन्।
रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय आफैंसँग राख्न चाहेको विवरणहरु आइरहेका छन्।
त्यसबारे मुखखोल्दै प्रचण्डले लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने अडान लिएका हुन्।