विराटनगर । भन्सार विभागले विराटनगर भन्सार प्रमुखसहित तीन कर्मचारीलाई भन्सार विभाग तथा अर्थ मन्त्रालयमा तानेको छ ।
तेस्रो मुलुकबाट प्रतीतपत्र (एलसी) मार्फत आयातित सामानको भन्सार प्रज्ञापनपत्र सिस्टममा प्रविष्ट गरेलगत्तै डिलिट गरेको आरोपमा उनिहरुलाई अनुसन्धानका लागि काठमाडौं तानिएका हुन्।
एक साताअघि देव इन्टरनेसनल काठमाडौंले चीनबाट मगाएको ७३ हजार अमेरिकी डलर बराबरको जुत्ता एवं गार्मेन्टका तयारी सामान भन्सार एजेन्ट शरण खरेलमार्फत ४५ लाख राजस्व घोषणा गरेर सामान छुटाउन प्रज्ञापनपत्र दर्ता गराएको थियो ।
खरेलले प्रज्ञापनपत्र दर्ता गरेपछि भन्सारले सिस्टममा इन्ट्री गरेलगत्तै डिलिट गरेको भन्सार स्रोतको दाबी छ । यसपछि विभागले भन्सार प्रमुख ताराप्रसाद सापकोटालाई विभाग, अधिकृत नकुल शर्मा र नासु हिमाल दाहाललाई अर्थ मन्त्रालयमा तानेर छानबिन टोली पठाएको हो ।
अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालको नेतृत्वमा आएको टोलीलाई भन्सारले रद्द गरिएको प्रज्ञापनपत्रमा घोषित सामान विराटनगर भन्सारमा आइनपुगेको र आईसीपीको गोदाममा पनि नभएको जवाफ दिएको थियो ।