बारा । कोभिड महामारीको समयमा सिम्रौनगढ नगरपालिकाले करोडौं लगानी गरेर सञ्चालनमा ल्याएको सुविधा सम्पन्न अस्पताल मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कोराना कालमा सुलभ र छिटो स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको १५ शय्या क्षमता भएको अस्पताल (अहिले नगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखा) ले सोमबार एक सूचना प्रकाशित गरी ओपीडी (बहिरंग) सेवाबाहेकका सबै सेवा अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको जनाएको छ ।
अस्पताल बन्दले ग्रामीण भेगका सर्वसाधारण निराश बनेका छन् । अस्पतालमा दैनिक करिब सय जनाले उपचार सेवा पाउँदै आएका थिए । नगरपालिकाले दुई करोड खर्चेर २ तल्लाको १२ कोठे नगर अस्पताल आफ्नै लगानीमा निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।
त्यसपछि यस क्षेत्रका बासिन्दाहरू सहज उपचार सुविधा पाउन थालेका थिए । नगरभित्रका अन्य सरकारी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक एमबीबीएससहित प्राविधिक र स्वास्थ्यकर्मी गरी ३० जना परिचालन गरेर सुविधायुक्त यो अस्पताल सञ्चालन गरिएको थियो ।
२५ लाख खर्चेर २४ औं घण्टा खुल्ला रहने फार्मेसी सञ्चालनमा ल्याइएको थियो । अहिले अस्पतालका प्रयोगाशाला, एक्सरे, फार्मेसी, अकास्मिक सेवालगायत सबै बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले बताए । नगरपालिकाले त्यसमा कार्यरत ३० जनामध्ये करारका २४ जना कर्मचारीलाई हटाएपछि सेवा अवरुद्ध भएकाले केही समयका लागि अस्पताल बन्द गर्नु परेको उनको भनाइ छ ।