काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारी क्षेत्रको वित्तीय व्यवस्थापनका विषयमा कुराकानी भएको छ ।
सोमवार प्रमुख शाहको कार्यकक्षमा भएको भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नुपर्ने कानूनी व्यवस्थाका विषयमा कुराकानी भएको हो।
कुराकानीका क्रममा प्रमुख शाहले सहकारीमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न काठमाडौं महानगरपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे । यसलाई थप प्रभावकारी बनाउन राष्ट्रबैंक र विज्ञहरूसँग सहकार्य गर्न तयार रहेको प्रमुख शाहको भनाइ छ ।
‘सहकारीमा बचतको सिलिङ सम्बन्धी कानूनी प्रबन्ध गर्न सक्छ,’ भेटमा गभर्नर अधिकारीले भने, ‘महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्रबैंकले उपलब्ध गराउन सक्छ ।’काठमाडौं महानगरपालिका क्षेत्रमा अहिले १ हजार ९५५ वटा सहकारी छन् । तीमध्ये १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन् ।
२६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमूलक, २ वटा शिक्षामूलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका १/१ वटा र अन्य ५ वटा सहकारी छन् ।
काठमाडौं कार्यक्षेत्र भएका सहकारीहरू महानगरको सहकारी विभागमा दर्ता भएर सञ्चालन हुन्छन् । सहकारी वित्तीय जोखिमका उजुरीहरू पर्ने गरेका छन् ।
यस्ता उजुरीमा बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्यसमिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय छन् । घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या सहकारी क्षेत्रमा देखिएका समस्या हुन् ।