काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आजै फैसला आउने भएको छ।
शुक्रबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दाको अन्तिम सुनुवाइ भएको थियो।
सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्। केहीबेरमा फैसला आउनेछ।
उक्त मुद्दामा फैसला आउने भएपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए। त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको थियो।
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको छ।