काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।
गत बुधबार बहस नसकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि अर्को पेसी तोकिएको हो ।
बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा भएको सुनुवाइ हेर्दाहेर्दै’मा राखिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषयको रिटमाथि बुधवारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र आज पनि सुनुवाइले निरन्तरता पाउने छ । बुधबार रिट निवेदकका तर्फबाट चार जनाले बहस गरेका थिए भने सरकारका तर्फबाट एक सहन्यायाधिवक्ता र लामिछानेका तर्फबाट दुई जनाले बहस गरेका थिए ।
लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए। यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो।
उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले परिसरलाई निर्देशन दिएपछि अनुसन्धान थालेको थियो।