काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
४४औँ पर्यटक प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीमित साधनस्रोतमा पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताएका हुन् ।
“पर्यटन विकासमा पूर्वाधारको निर्माणसँगै संस्कारको पनि उत्तिकै महत्त्व छ, प्राकृतिक सम्पदा र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा सबै सरोकारवाला निकायले आपसी समन्वय गर्दै अगाडि बढ्नुपर्छ”, उनले भने ।
पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवं नीति तयार गरी सोहीअनुरूप अगाडि बढ्नुपर्ने बताए। पर्यटन प्रवर्द्धन, विकास एवं समृद्धिमा सम्बद्ध निकायले आ–आफ्नो क्षमता तथा दक्षतालाई अझ बढी क्रियाशील भई प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।