पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरूबाट प्रस्तुत मन्त्रालयगत बिफ्रिङमा उनले पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य सर्त भएको बताए ।मुख्यमन्त्री अधिकारीले सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्न निर्देशन दिए ।
आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फछ्र्यौट एवं नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल गर्न उनले आग्रह गरे । उनले भने, “आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फछ्र्यौट गर्न एवं नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल आवश्यक छ । प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्ने सम्बद्ध सबै जिम्मेवार भएर लाग्नुहोला ।”
मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन छरितो संरचना बनाउने निर्णय भइसकेको र सबै मन्त्रालय र कार्यालयले वस्तुनिष्ठ सङ्गठन संरचना निर्माण गर्न प्रमुख सचिवको अध्यक्षतामा गठित सङ्गठन तथा व्यवस्थापन समितिलाई सहयोग गर्न आग्रह गरे ।