पर्वत । स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरुको पहिचान गर्दै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन्। कुश्मा बजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु। ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने वाचा गर्छु।’
उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे। ‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेछ। हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दैछौं। आगामी ५ वर्षभित्र सातवटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ। सानोतिनो शल्यक्रिया पनि हुन्छ। कोही पनि उपचार नपाएर मर्ने अवस्था रहँदैन,’ मन्त्री गिरीले भने।
उनले ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताए। 'गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्याउने जिम्मा सरकारको हो। उपचार नपाएर अकालमा मर्नु पर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउनेगरी काम गर्नेछौं,' उनले भने।
स्वास्थ्यमन्त्री गिरीले संकटमा रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने अभिभारा अहिलेको सरकारसँग रहेको बताए। ‘आज देशको अर्थतन्त्र संकटमा छ। एक जनाले दिउँसै आफ्नो शरीरमा आगो लगाएर मृत्युवरण गरेको प्रसंगले आज देशभर सनसनी मच्चिएको छ। आत्महत्यालाई राम्रो मान्न सकिँदैन। तर पनि अर्थतन्त्र कति जर्जर भएको छ भन्ने सोचनीय कुरा हो,' उनले भने।
उनले जटिल परिस्थितिमा अर्थतन्त्र बलियो बनाएर जानुपर्ने दायित्व सरकारसँग रहेको बताए।