कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
उनले पुस २८ गते विना विभागीमन्त्रीका रुपमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)बाट मङ्गलबहादुर शाही र नेकपा (एमाले)बाट विनोदकुमार शाहलाई नियुक्त गरी तीन सदस्य मन्त्रिपरिषद् गठन गरेका हुन् ।
सोही गठित मन्त्रिपरिषद्लाई नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा ९ बमोजिम हेरफेर गरी आज सत्ता साझेदार दल माओवादीबाट भीमप्रकाश शर्मा, कृष्णबहादुर जिसी र एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ललाई उनले मन्त्रीमा नियुक्ति गर्नुका साथै कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हुन प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरे ।
उक्त सिफारिसपश्चात् नवनियुक्त मन्त्रीहरूलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज साँझ ६ः३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनले नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराउएका हुन् । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेलगत्तै उनीहरुले आजै पदभार ग्रहण गरेका छन्।
बिनाविभागीय तथा आज नियुक्त भएका मन्त्रीहरूमा विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना, मङ्गलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, भीमप्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानुन, टेकराज पछाईले सामाजिक विकास र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।