काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सांसद बन्ने योग्यतामाथि परेको मुद्दामाथि बुधबार संवैधानिक इजलासमा अग्राधिकारसहित सुनुवाइ सुरु भएको छ।
सुनुवाइ बुधबार नकिएपछि शुक्रबारसम्म हेर्दाहेर्दैमा राखिएको छ। शुक्रबार लामिछानेका कानुन व्यवसायीको बहस सकिएपछि जवाफी बहस हुनेछ। मुद्दाका दुवै पक्षले बहस नोट बुझाइसकेका छन्।
बुधबार रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरे भने लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल, सुशील पन्त र सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरे।
अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।
नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको छ।