काठमाडौं। पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी छ।
काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलका अनुसार फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको छ। छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिनेछ।
छ जनाको शव अत्यधिक जलेका कारण फरेन्सिक र फिङ्गर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भएको हो।
नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिनेछ। ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना सङ्कलन गर्ने कार्य भइरहेको छ।
यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्नेछ। विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो।
गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो।