जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला उनले दलहरूबीच सरकार विस्तारमा कुनै समस्या नरहेको बताए । उनले शुक्रबार विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको जानकारी दिए ।
मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र काठमाडौँमा रहेकाले शुक्रबारसम्म पर्खिनुपरेको र उहाँ बिहीबार फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने प्रष्ट पारे ।
मुख्यमन्त्री यादवको सिफारिसमा गत पुस २९ गते उनसँगै थप तीन जना प्रदेशसभा सदस्य, एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहले बिनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका थिए ।
जसपा मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले माघ ३ गते विश्वासको मत लिएको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने तीन जना मन्त्रीले पनि कुनै जिम्मेवारी पाएका छैनन् ।