काठमाडौँ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, र बाजुरामा पनि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको स्थानीयले जानकारी दिएका छन् ।
उच्च हिमाली जिल्लामा हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज पनि प्रभावित भएका छन् । हिमपात भइरहे पनि सबै सरकारी कार्यालय खुला रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले भारी हिमपातका कठ्याङ्ग्रिने चिसो बढेको बताए ।चिसोले ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन अध्ययन गर्ने बालबालिका प्रभावित भएका छन् ।
हिउँ पर्दा भने किसान हर्षित भएका छन् । सुक्खा खडेरीले हिउँदे बाली सुक्दै जाँदा चिन्तित बनेका किसान भने पहिलोपटक हिउँ परेपछि खुसी भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताए ।हिउँदे बालीको उत्पादन वृद्धिका लागि कर्णालीमा पुस र माघमा हिमपात हुनुपर्ने यहाँका किसान बताउँछन् ।