बाजुरा। बडीमालिका नगरपालिका–१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ।
जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले गर्भवती विकको मृत्यु भएको हो।
गिरीले भने, ‘चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ। ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौँ।’
विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो।
बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा पनि पेटमै मृत्यु भइसकेको जानकारी दिए। विक मुटुरोगी थिइन्।